काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल जोडिएका छन्। सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजयको प्रवेशसँगै चलचित्रको स्टारकास्ट थप आकर्षक बनेको छ।
निर्देशक चौधरीले कथाको माग र दर्शकको रुचिलाई ध्यानमा राख्दै कलाकार छनोट भइरहेको बताए। उनका अनुसार विजयको उपस्थितिले चलचित्रको कथालाई थप बलियो बनाउनेछ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका छन्। चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण गरिँदैछ।
निर्माण पक्षले नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने तयारी गरेको छ। आगामी साताबाट छायांकन सुरु हुने चलचित्रका लागि ७० दिनको सेड्युल तयार पारिएको छ। अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत ‘बेन’ को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन्।
ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन वितरक रहेको चलचित्रमा अझै केही चर्चित कलाकार जोडिने निर्माण पक्षले जनाएको छ।


