काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘एक्का तीन’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री पूजा शर्मा र मोडल तथा अभिनेत्री कविता नेपालीलाई आक्रोशित अवतारमा प्रस्तुत गरिएको छ।
जुना फिल्मस्को प्रस्तुतिमा बन्न लागेको चलचित्रको पोस्टरमा दुई अभिनेत्रीबीचको टकरावलाई मुख्य रूपमा देखाइएको छ। एक्सन जनरामा निर्माण हुने चलचित्रमा महिला पात्रबीचको संघर्ष र भिडन्तलाई केन्द्रमा राखिने निर्माण पक्षले जनाएको छ।
चलचित्रमा मुख्य पुरुष कलाकार को रहने भन्ने विषयमा भने निर्माण पक्षले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
रुपेश तामाङको निर्देशनमा बन्ने चलचित्रको लेखन सुमन गजमेरले गरेका छन्। रामकृष्ण खरेल र अनुप गडालको लगानी रहने चलचित्रमा पूजा र कविताको एक्सन अवतारलाई दर्शकले नयाँ शैलीमा देख्न पाउने निर्माण पक्षको दाबी छ।
दुई अभिनेत्रीको टकरावलाई पोस्टरमै प्राथमिकता दिइएकाले ‘एक्का तीन’प्रति दर्शकको चासोसमेत बढेको छ।


