काठमाडौं । पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलमा छायांकन भइरहेको हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को निर्माण टोलीलाई सुनसरीको रामधुनी नगरपालिकाले सम्मान गरेको छ।
चलचित्रमार्फत स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नगरपालिकाले एक कार्यक्रम आयोजना गरी चलचित्र टोलीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेको हो। कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति थियो।
कार्यक्रममा नगर प्रमुख चौधरीले रामधुनीमा चलचित्रको छायांकन हुनु खुसीको विषय भएको बताए। रामधुनीको धार्मिक तथा पर्यटकीय महत्वलाई चलचित्रले थप प्रचारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

सम्मान ग्रहण गर्दै निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले चलचित्रमार्फत पर्यटन प्रवर्द्धनमा गरिएको प्रयासको मूल्यांकन गर्दै सम्मान गरेकोमा रामधुनी नगरपालिका र नगर प्रमुखप्रति आभार व्यक्त गरे।
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको ‘तिरिमिरी झ्याइँ’ पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित चलचित्र हो। समकालीन समाजका रमाइला र ठट्यौला पक्षलाई चलचित्रमा हास्यशैलीमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रबाट ‘दले दाई’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। चलचित्रमा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा छन्।
विशाल कक्षपतिको छायांकन रहने चलचित्रको संगीत अभिषेक कार्कीले सम्हालेका छन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद तयार पारेका हुन्। करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनर छन्।
यस्तै, सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टायल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ।


