काठमाडौं, भदौ ५ । प्रेमकथामा आधारित चलचित्र ‘माया बस्छ कि क्या हो!’को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षले चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने जनाएको हो।
राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रका पोस्टरमा नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलालाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनीहरूबीचको प्रेम, आकर्षण र समर्पणलाई प्राथमिकताका साथ देखाइएको छ।

शरद अधिकारीको प्रस्तुति रहेको चलचित्रका निर्माता बहादुर सिंह तामाङ हुन्। आरती अधिकारी आचार्यको कथामा बनेको फिल्मको पटकथा तथा संवाद मौनता श्रेष्ठले लेखेकी छन्। रामप्रसाद चौधरीको सम्पादन तथा रबिन्द्र बरालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ।
कमल राई तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रको अधिकांश छायांकन बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत युरोपेली मुलुकका रमणीय स्थानमा गरिएको छ।
चलचित्रमा सोनाल र कस्मतासँगै नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेललगायत कलाकारको अभिनय रहेको छ।
प्रेम, सम्बन्ध र युवा पुस्ताको भावनालाई कथाको केन्द्रमा राखिएको चलचित्रले दर्शकलाई प्रेमको फरक अनुभूति गराउने प्रस्तुतकर्ता शरद अधिकारीको विश्वास छ। यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौं’ निर्माण गरिसकेका अधिकारीले यसपटक प्रेमकथालाई युरोपको परिवेशसँग जोडेर प्रस्तुत गरेका छन्।
जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको वितरण नेशनल सिने ग्रुपले गर्नेछ।


