काठमाडौं । अभिनेत्री सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ आफूले यसअघि गरेका कामभन्दा फरक र रोचक रहेको बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र दर्शकले हेर्नुपर्ने भन्दै उनले यसमा परिवार, त्याग र भावनासँग जोडिएका धेरै पक्ष समेटिएको बताइन्।
चलचित्रमा आफूले निर्वाह गरेको पात्र पनि आफ्ना लागि विशेष र फरक रहेको सुहानाको भनाइ छ। उनका अनुसार ‘बा: एक योद्धा’ले सन्तानका लागि बाबा–आमाले गर्ने त्याग, संघर्ष र समर्पणलाई कथाको केन्द्रमा राखेको छ।
“हामी सबैलाई बाबा–आमाले हाम्रा लागि गर्नुभएको त्याग सम्झना हुन्छ। तर, हामी त्यो कुरा उहाँहरूकै अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहानाले भनिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी त्याग गर्नुभएको छ भन्ने कुरा परिभाषित गरिदिएको छ।”
सुहानाले चलचित्रमा भावनात्मक पक्षसँगै मनोरञ्जन र दर्शकसँग जोडिने विषय पनि रहेको बताइन्। चलचित्र हेर्दा दर्शकलाई आफ्नै परिवार र कथासँग जोडिएको महसुस हुने उनको विश्वास छ। यही कारण उनले सबैलाई ‘बा: एक योद्धा’ हेर्न आग्रह गरेकी छन्।
भदौ १९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथाका रूपमा प्रस्तुत गरेको छ।
चलचित्रमा सुहाना थापासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका संगीतकार हरि लम्सालको यो पहिलो फिचर चलचित्र निर्देशन हो। रचनाकार तथा गायकसमेत रहेका लम्सालले चलचित्रको कथा र पटकथा पनि आफैँ लेखेका छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्।
अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्। शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्।
‘बा: एक योद्धा’लाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको चलचित्रले बुवा–सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


