काठमाडौं । ओएसआर डिजिटलबाट शुक्रबार युट्युबमा सार्वजनिक भएको चलचित्र ‘झिंगे दाउ’ले डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ। रिलिज भएको दुई दिन नपुग्दै चलचित्रको भ्यूज २१ लाख नाघेको छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले युट्युबमा आक्रामक भ्यूज बटुलिरहेको हो।
‘झिंगे दाउ’को पहिलो भागले युट्युबमा राम्रो भ्यूज पाइरहेका बेला निर्माण टिमले दोस्रो भाग ‘झिंगे दाउ २’को तयारीलाई पनि तीव्रता दिएको छ। चलचित्रका लागि तीजलाई लक्षित गर्दै एक गीतको छायांकन गरिएको छ, जसमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा आकर्षक अवतारमा प्रस्तुत भएका छन्।
रातो सारीमा सजिएका केकी र आँचलले गीतमा छमछमी नाच्नुका साथै जेठानी–देउरानीको सम्बन्धमा हुने रमाइलो झगडालाई समेत प्रस्तुत गरेका छन्। गीतको दृश्यमा उनीहरूबीचको नोकझोकलाई मनोरञ्जनात्मक शैलीमा देखाइएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘झिंगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर सुन्न सकिनेछ। गीतको भिडियो भदौ १० गते सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ। रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन्।
केकी र आँचल गीतले दर्शकको राम्रो साथ पाउनेमा विश्वस्त छन्। कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको ‘झिंगे दाउ २’मा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। चलचित्रको टिजरले यसअघि नै दर्शकमाझ उत्सुकता बढाइसकेको छ।


