काठमाडौं । मिसेस भोग नेपाल सिजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्।
३२ वर्षीया प्रतिक्षाले म्यानमारमा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’को सब–टाइटलसमेत आफ्नो नाममा पारिन्। उनले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
त्यस्तै, नेपालबाट राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व र योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतिक्षा र ओशिमाले म्यानमारमा हासिल गरेको सफलताको अनुभव सञ्चारकर्मीसँग साझा गरे। प्रतिक्षाले आफूले गरेको मेहनतसँगै हाउस अफ फेसन नेपालका मेन्टरहरूको प्रशिक्षणले अन्तर्राष्ट्रिय उपाधि जित्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।
ओशिमाले पनि प्रतिक्षाको मेहनत र आफ्नो टिमको निरन्तर प्रयासले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउन सफल भएको बताइन्।
हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाले नेपाली महिलाको क्षमता, आत्मविश्वास र नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने अभियानमा यी उपलब्धिले थप ऊर्जा दिएको जनाएको छ।
कार्यक्रममा सगून ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत पियूष सरावगी, मिसेस भोग नेपाल सिजन–२ की विजेता डा. सुमी मल्ल, पर्यटनविद् तथा ठमेल पर्यटन विकास परिषद्का पूर्वउपाध्यक्ष गीता गुरुङ र फेसन उद्यमी श्रीजा श्रेष्ठलगायतको उपस्थिति थियो। उनीहरूले प्रतिक्षाको उपलब्धिको प्रशंसा गर्दै आगामी संस्करणमा अझ उत्कृष्ट सहभागिता हुने अपेक्षा व्यक्त गरे।
‘मिसेस भोग नेपाल सिजन–४’ घोषणा
यसै अवसरमा हाउस अफ फेसन नेपालले विवाहित महिलाको आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित ‘मिसेस भोग नेपाल सिजन–४’को घोषणा गरेको छ।
‘मुकुटभन्दा पर– उपाधिभन्दा ठूलो एउटा यात्रा’ अर्थात् ‘BEYOND THE CROWN – Where a Title Becomes a Journey’ नारासहित आयोजना हुने चौथो संस्करणलाई आयोजकले केवल सौन्दर्य प्रतियोगिताका रूपमा नभई व्यक्तिगत रूपान्तरण, आत्मविश्वास, नेतृत्व विकास, सञ्चार क्षमता र अन्तर्राष्ट्रिय अवसरसँग जोडिएको यात्राका रूपमा अघि बढाउने जनाएको छ।
यस संस्करणको विशेषता भौतिक अडिसन नहुनु हो। नेपालका विभिन्न स्थान तथा विदेशमा रहेका इच्छुक महिलाले समेत सहभागिता जनाउन सक्ने गरी सम्पूर्ण अडिसन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिनेछ। आयोजकले आइतबार साँझदेखि नै सामाजिक सञ्जालमार्फत आवेदन खुला गरेको जनाएको छ।
प्रारम्भिक छनोटमा परेका सहभागीलाई अडिसनअघि आवश्यक काउन्सेलिङ तथा मार्गदर्शन दिइनेछ। छनोट प्रक्रियामा व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति शैली र समग्र सम्भावनालाई मुख्य आधार बनाइने हाउस अफ फेसन नेपालकी निर्देशक ओशिमा बानुले बताइन्।
छनोट भएका प्रतियोगीलाई व्यावसायिक ग्रुमिङ तथा विभिन्न प्रशिक्षण प्रदान गरिनेछ। प्रशिक्षणमा आत्मविश्वास, सञ्चार क्षमता, स्टेज प्रेजेन्स, व्यक्तित्व विकास तथा आफ्नो मौलिक पहिचान र प्रतिभालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।
‘BEYOND THE CROWN’ अवधारणामार्फत महिलालाई केवल सौन्दर्य प्रतियोगिताको विजेता नभई समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासी र सक्षम नेतृत्वकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
आगामी जनवरीमा हुने ग्रान्ड फिनालेका विजेताका लागि पाँच लाख रुपैयाँसम्मको नगद तथा विभिन्न अवसर उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेतालाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने तथा ग्लोबल एक्सपोजर प्राप्त गर्ने अवसरसमेत प्रदान गरिनेछ।
हाउस अफ फेसन नेपालका अनुसार ‘मिसेस भोग नेपाल सिजन–४’ ताज र उपाधिमा मात्र सीमित नरही विवाहित महिलालाई आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व, व्यावसायिक वृद्धि र अन्तर्राष्ट्रिय अवसरतर्फ अघि बढाउने प्लेटफर्मका रूपमा आयोजना गरिनेछ।


