काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ निर्माण टिमले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क चलचित्र हेर्ने अवसर प्रदान गर्ने भएको छ।
निर्माण पक्षका अनुसार भदौ १० गतेदेखि भदौ २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउनेछन्। यसका लागि भने खल्ती एपमार्फत टिकट खरिद गर्नुपर्नेछ। टिकट खरिद गरेपछि आवश्यक प्रक्रिया पूरा गर्ने दर्शकको रकम खल्ती वालेटमै फिर्ता गरिनेछ।
निर्देशक डा. कपिल रिजालका अनुसार रकम फिर्ताका लागि नागरिकता र फोटो पठाउनुपर्नेछ। साथै खल्तीमार्फत गरिएको टिकट खरिदको ट्रान्जेक्सन स्क्रिनसट तथा ‘गौँथली’को पोस्टर पृष्ठभूमिमा राखेर खिचिएको फोटोसमेत पेस गर्नुपर्नेछ।
निर्माण पक्षका अनुसार योग्य दर्शकको खरिद गरिएको टिकटको कुल रकम बराबरको पैसा सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा जम्मा गरिनेछ।
यस अभियानका लागि खल्तीमा प्रारम्भिक रूपमा एक लाख रुपैयाँ जम्मा गरिनेछ। उक्त रकम सकिएसम्म वा अभियानको अवधि समाप्त नहुँदासम्म, जुन पहिले हुन्छ, त्यहीअनुसार रकम फिर्ताको प्रक्रिया सञ्चालन गरिने निर्माण पक्षले जनाएको छ।
अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ले बक्स अफिसमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ। चलचित्रले हालसम्म २५ करोड २२ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
शिक्षाको महत्व तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखिएको ‘गौँथली’का निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।


