काठमाडौं । रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ। निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रालिले आइतबार विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति सारिएको जानकारी दिएको हो।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देशमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित मिति स्थगित गरिएको निर्माण पक्षले जनाएको छ।
निर्माता दिल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा देश शोकमा रहेका बेला मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानेर प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ। अचानक प्रदर्शन मिति सार्नुपरेकामा दर्शक तथा सम्बन्धित सरोकारवालाप्रति निर्माण पक्षले क्षमासमेत मागेको छ।
स्थगित भएको चलचित्र अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक २० गते प्रदर्शनमा आउने भएको छ। नयाँ प्रदर्शन मितिबारे मुख्य वितरकहरूलाई औपचारिक जानकारी गराइसकिएको निर्माण पक्षले जनाएको छ।
‘माया भनेकै यस्तो होला’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहलगायत कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय छ।
चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेका छन्। ध्रुव लम्सालको पटकथा रहेको चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप तथा चुडामणी (सीएम) प्रोडक्सनमा छन्।



