काठमाडौं । एसीसी मेन्स प्रिमियर कप–२०२६ मा नेपालले विजयी सुरुवात गरेको छ। यूकेएम वाइएसडी ओभल मैदानमा भएको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए। उनले ५८ बलमा ५ चौका प्रहार गर्दै अविजित रहे।
कप्तान रोहित पौडेलले १४ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाएर अर्जुनलाई साथ दिए। ओपनर आसिफ शेख १८ रनमा आउट भए भने देव खनाल १० र इशान पाण्डे १ रनमा पेभेलियन फर्किए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु टिक्न सकेन। बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन सस्तैमा समेटिएको थियो।
७ विकेटको सहज जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोड्दै एसीसी प्रिमियर कपको यात्रा विजयी रूपमा सुरु गरेको छ।


