काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन थालिएको हो।
चलचित्रको सुरुवाती दुई दिन काठमाडौंमा छायांकन गरिनेछ। त्यसपछि निर्माण टिम दोलखाको जिरी प्रस्थान गर्नेछ। जिरीमा करिब एक महिनासम्म चलचित्रको छायांकन हुने निर्माण पक्षले जनाएको छ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ।
पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्। हरि हुमागाँई र उत्तम हुमागाँई डीओपी रहेका छन् भने सुनिल निउरे मुख्य सहायक निर्देशकका रूपमा छन्।
दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ।
नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य आधार बनाइएको ‘रत्यौली’लाई निर्माण पक्षले आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ।


