काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढीपहिरो प्रभावित परिवारको अवस्था बुझ्न नुवाकोट पुगेकी छन्।
गत बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग लिएर उनी नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेकी हुन्। उनले पीडित परिवारसँग भेटघाट गर्दै आवश्यक राहत सामग्रीसमेत वितरण गरेकी छन्।
न्यान्सीका अनुसार उनले पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर बाढीपहिरोबाट प्रभावित तथा उद्धार गरी उपचाररत व्यक्तिहरूसँग भेटघाट गरेकी थिइन्। उनले वडा अध्यक्षसँग भेटेर प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यक सहयोगबारे समेत जानकारी लिइन्।

यात्राका क्रममा उनले आवश्यकतामा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीलाई मास्क र ग्लोभ्ससमेत उपलब्ध गराएकी छन्। त्यसपछि विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै युनाइटेड स्कुल, बटर धोबिघाटलगायत स्थानमा पुगेर स्थानीयको अवस्था बुझेकी थिइन्।
यो अभियानमा लायन्स क्लबका सदस्यहरूले समेत सहकार्य गरेको न्यान्सीले बताइन्। सामूहिक प्रयासले राहत तथा सहयोगलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको उनको भनाइ छ।
आफूले गरेको सहयोग ठूलो नभए पनि विपद्को समयमा प्रभावित परिवारसम्म पुगेर उनीहरूको कुरा सुन्ने र सकेको सहयोग गर्ने उद्देश्य रहेको न्यान्सीले बताइन्। उनले आगामी दिनमा पनि सम्भव भएसम्म सहयोग र साथलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्।
चलचित्र ‘अक्षरा’को प्रचारप्रसारलाई केही समय थाती राखेर बाढीपहिरो प्रभावितको अवस्था बुझ्न नुवाकोट पुगेकी न्यान्सीको यो कदमलाई सामाजिक उत्तरदायित्वका रूपमा हेरिएको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’मा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
दीपेन बस्न्यातको छायांकन र गौतम खड्काको सम्पादन रहेको चलचित्र क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको हो। सोनी थापा प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्।
पूर्वमिस नेपाल इन्टरनेसनलसमेत रहेकी न्यान्सीको यो दोस्रो चलचित्र हो।


