काठमाडौं । प्रारम्भिक व्यापारिक सुस्तता र रसुवाको बाढीपहिरोको प्रभावका कारण कमजोर सुरुवात गरेको नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा उत्साहजनक पुनरागमन गरेको छ।
प्रदर्शनको पहिलो र दोस्रो दिन दर्शकको उपस्थिति न्यून रहे पनि तेस्रो दिनदेखि फिल्मले बलियो ‘माउथ पब्लिसिटी’ पाएको निर्माण पक्षले जनाएको छ। दर्शकको सकारात्मक प्रतिक्रियासँगै ‘पार्वती’का शो पनि बढ्दै गएका छन्। हाल देशभरका हलमा फिल्मले ११० भन्दा बढी शो पाइरहेको बताइएको छ।
भारतीय फिल्म ‘टक्सिक’ले अपेक्षाअनुसार व्यापार गर्न नसक्नुको फाइदा पनि ‘पार्वती’लाई पुगेको देखिन्छ। दर्शकको रोजाइमा ‘पार्वती’ पर्न थालेपछि सुरुवाती चरणमा शो घट्ने अवस्थामा पुगेको फिल्मले अहिले व्यापारमा सुधार ल्याएको हो।
अटिजम प्रभावित दिदीप्रति भाइले देखाउने गहिरो प्रेम र पारिवारिक संघर्षलाई केन्द्रमा राखिएको फिल्मको भावनात्मक कथावस्तु दर्शकलाई जोड्न सफल भएको निर्माण पक्षको दाबी छ। फिल्म हेरेर हलबाट बाहिरिने क्रममा दर्शक भावुक बनेको दृश्यले पनि यसको विषयवस्तुलाई दर्शकले रुचाएको संकेत गरेको छ।
निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले सुरुवाती दिनमा शो घट्ने अवस्था बने पनि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अहिले फिल्मको व्यापारमा अपेक्षाभन्दा राम्रो उत्साह थपिएको बताएकी छन्।
यतिबेला फिल्मका कलाकारसहित निर्माण टिम दर्शकसँग साक्षात्कारका लागि पश्चिम नेपाल पुगेको छ। कैलाली, कञ्चनपुरलगायतका जिल्लाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको टिमले त्यहाँ पनि सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ।
हरिहर अधिकारीको निर्माण रहेको ‘पार्वती’मा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ।
सुरुवाती कमजोर व्यापारपछि दर्शकको सकारात्मक प्रतिक्रियासँगै गति लिएको ‘पार्वती’ले अहिले घरेलु बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।


