काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गरिएको छ।
प्रविण आचार्यको प्रस्तुतिमा बन्न लागेको फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।
फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ। अनिल कुमार बुढाथोकी निर्माता रहेको फिल्ममा अश्विन बराल, दिपेश तिरुवा र प्रविन राई सह–निर्माता छन्। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरको जिम्मेवारीमा छन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका छन्।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ। एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहने फिल्मको नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन्।
जीवन गौतम मुख्य सह–निर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक तथा सुदीप अधिकारी कला निर्देशकका रूपमा फिल्ममा आबद्ध छन्।
शुभमुहूर्तअघि निर्माण टिमले रसुवा, नुवाकोट र धादिङमा हालै भएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
फिल्म निर्माण पक्षले बाढीपहिरो प्रभावितको सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेको छ।


