काठमाडौं । सुमन श्रेष्ठ र जियोन तामाङ ‘फेस अफ नेपाल २०२६’को विजेता बनेका छन्। ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा महिला विधातर्फ सुमन र पुरुष विधातर्फ जियोन विजेता घोषित भएका हुन्।
प्रतियोगितामा आइस्ता जोशी र अनिशा श्रेष्ठले पनि विजेताको उपाधि हात पारेका छन्। विजेता चारै जनाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगिताको ग्रान्ड फिनालेमा ८ महिला र ११ पुरुष गरी १९ जना प्रतियोगी सहभागी थिए।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बीच प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न गरिएको हो। विपत्तिको अवस्थालाई ध्यानमा राख्दै आयोजकले यसअघि कार्यक्रम एक सातापछि सारेको थियो। तर, प्रायोजक तथा फिनालेको स्थान पहिल्यै तय भइसकेकाले थप समय सार्न सम्भव नभएको राष्ट्रिय निर्देशक मेनुका माझीले बताइन्।
“यस्तो ठूलो विपत्तिबीच पनि कार्यक्रम सफल बनाउनुपर्ने चुनौती थियो। त्यो चुनौती पार गर्दै भव्य रूपमा ग्रान्ड फिनाले सम्पन्न गरेका छौँ,” माझीले भनिन्।
उनका अनुसार आयोजक टिमले बाढी प्रभावितका लागि राहतसमेत वितरण गरेको थियो। विपद्को अवस्थामा पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक तथा साथ दिने सबैप्रति उनले आभार व्यक्त गरिन्।
फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल २०२१’ तथा अभिनेत्री–मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल २०२४’का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक एवं फेसन डिजाइनर सुकनीता चौलागाईं तथा नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका थिए।
‘फेस अफ नेपाल २०२६’को मुख्य प्रायोजन स्टार बोस कफीले गरेको हो भने यामाहा रेसिङले सह–प्रायोजन गरेको छ।


