काठमाडौं । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
विपद्को कठिन अवस्थामा सरकारको उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको वर्ल्डलिंकले जनाएको छ।
आफ्नै पूर्वाधारमा क्षति भए पनि राहतलाई प्राथमिकता
बाढी र पहिरोका कारण वर्ल्डलिंकको आफ्नै पूर्वाधारमा समेत ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति व्यहोरेको छ।
आफ्नै संरचनामा क्षति पुगेको अवस्थामा पनि व्यावसायिक नाफाभन्दा माथि उठेर मानवीय जिम्मेवारी र राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकता दिँदै सहयोग गरिएको कम्पनीको भनाइ छ।
सहयोग हस्तान्तरणका क्रममा कम्पनीका अधिकारीले देशका नागरिक विपद्मा परेका बेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनु आफ्नो दायित्व भएको बताएका छन्। कम्पनीका अनुसार यो सहयोग व्यावसायिक गतिविधिभन्दा माथि उठेर गरिएको सामाजिक तथा राष्ट्रिय जिम्मेवारी हो।
विपद्का कारण सडक, विद्युत् तथा सञ्चार पूर्वाधारमा अवरोध पुगे पनि वर्ल्डलिंकले आफ्ना प्राविधिक टोलीलाई तत्काल परिचालन गरेको थियो। कम्पनीले बाढी आएको तीन दिनभित्रै प्रभावित क्षेत्रका नेटवर्क पुनःस्थापना गर्न सफल भएको जनाएको छ।


