काठमाडौं । आगामी शुक्रबार भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ यतिबेला चर्चामा छ। विशेषगरी चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त्यसमा देखिएका पात्र र कलाकारको अभिनयलाई लिएर दर्शकमाझ चासो बढेको छ।
यही क्रममा अभिनेता सुशान्त कार्की चलचित्रमा देखिने ‘एंग्री योङ पुलिस अफिसर’को भूमिकाका कारण चर्चामा आएका छन्। चलचित्रमा प्रहरी अधिकारीको भूमिकालाई प्रभावकारी बनाउन उनले आफ्नो शारीरिक बनावटमा समेत निकै मेहनत गरेको निर्माण पक्षले जनाएको छ।
हालै आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा सुशान्तलाई उनको लुक्स र भूमिकाबारे प्रश्न गरिएको थियो। सो क्रममा उनले चरित्रलाई न्याय दिन र शरीरलाई फिट राख्न सुटिङका क्रममा नुन र पानीसमेत छाडेको बताएका थिए। भूमिकाका लागि गरेको उनको यो शारीरिक तयारी अहिले चर्चाको विषय बनेको छ।
निर्माण पक्षले सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा पनि सुशान्तको कठोर शारीरिक अभ्यास देखिन्छ। जिममा नियमित मेहनत गरेका उनी चलचित्रमा सुगठित शरीर र आक्रामक हाउभाउसहित प्रहरीको भूमिकामा प्रस्तुत भएका छन्।
एक्सन र ड्रामाले भरिएको चलचित्रमा सुशान्तको ‘एंग्री’ लुक्सलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ। यसअघि विभिन्न भूमिकामा देखिएका सुशान्तले ‘बेहुली’मा भने आफूलाई फरक शैलीमा प्रस्तुत गरेका छन्।
लभर ब्वायलगायतका भूमिकामा देखिँदै आएका उनले यसपटक खाकी बर्दीमा गरेको शारीरिक तथा अभिनय तयारीले उनको चरित्रमा नयाँपन थपेको छ। यही कारण ‘बेहुली’ उनका लागि करिअरको महत्वपूर्ण चलचित्र बन्न सक्ने अपेक्षा गरिएको छ।
शशान कँडेलको निर्देशन तथा चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति रहेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्। चलचित्रमा सुशान्तसँगै पारस बम ठकुरी ‘कुल ब्वाय’, दिव्या रायमाझी, सरिता गिरी, कर्मा लामा, सन्तोष बानिया र पदम तामाङलगायत कलाकारको अभिनय रहेको छ।
पारिवारिक ड्रामा, रोमान्स र एक्सनको मिश्रण रहेको ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ। सुशान्तको रफ एन्ड टफ प्रहरी अवतारले पर्दामा दर्शकको कस्तो प्रतिक्रिया पाउँछ, त्यसका लागि भने चलचित्रको प्रदर्शन कुर्नुपर्नेछ।


