काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’बाट अभिनेता समीर भट्टको एक्सन अवतार सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा समीरलाई मांसपेशीयुक्त शरीर र आक्रामक हाउभाउमा प्रस्तुत गरिएको छ।
पोस्टरले चलचित्रमा समीरको दमदार एक्सन प्रस्तुतिको संकेत गरेको छ। पहिलो चलचित्रबाटै एक्सन र शारीरिक बनोटका कारण चर्चामा आएका समीरको दोस्रो श्रृंखलामा अझ शक्तिशाली अवतार देख्न पाइने निर्माण पक्षको दाबी छ।
बिराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रलाई बिराज भट्टले निर्देशन गरेका हुन्। सरस्वती भट्ट निर्माता रहेको चलचित्रमा समीर भट्टसँगै बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ।
चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा ईटनीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्।
सन्तोष सरकारको कथा रहेको चलचित्रको छायांकन महेश पौडेलले गरेका छन्। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन् भने नृत्य निर्देशन रामजी लामा र सियोन श्रेष्ठले गरेका छन्। सम्पादन बन्दे प्रसाद र सह–सम्पादन उमेश थापाले गरेका छन्।
चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत रहेको छ। सुगम पोखरेल, निशान भट्टराई, समीक्षा अधिकारी, प्रेरणा सिंह र किरण भुजेलले स्वर दिएका छन्।
काफिया फिल्म्स र कुवेर सिनेमा वितरणमा रहेको ‘१२ गाउँ २’को डिजिटल पार्टनर आरटी इन्टरटेन्मेन्ट रहेको छ भने डबिङ ग्लोबल रिल मोसन पिक्चर्सले गरेको छ।
चलचित्र आगामी असोज ३० गते अर्थात् अक्टोबर १६ मा दशैंको फूलपातीको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।


