काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘बाकस’मा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। निर्माण टिमले आइतबार महेशसँग औपचारिक सम्झौता गरेको हो।
नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा महेशको प्रवेशसँगै मुख्य कलाकारको टिम थप बलियो बनेको छ। यसअघि अभिनेत्री विपना थापा र वर्षा राउत मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्।
सुजिता चौलागाईंको निर्माणमा बन्ने चलचित्रका सहनिर्माता छत्रबहादुर खड्का तथा कार्यकारी निर्माता धर्मेन्द्र पन्त हुन्। चलचित्रको संगीतमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्नेछन्। गीतका शब्द दीपक शर्मा र निर्देशक नवीन पन्तले लेख्नेछन्।
निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोलीको टुंगो लगाउने काम अन्तिम चरणमा पुगेको छ। निर्देशक पन्तले कलाकार तथा प्राविधिकसँगको कुराकानी करिब टुंगिएको जानकारी दिए।
‘अहिले कलाकार तथा प्राविधिकहरूसँग कुराकानी भइरहेको छ। करिब–करिब कुराकानी मिलिसकेको छ। टुंगो लाग्न मात्र बाँकी छ,’ निर्देशक पन्तले भने।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘बाकस’ले वैदेशिक रोजगारीको सामाजिक आयामलाई कथाको मुख्य विषय बनाउने निर्माण पक्षले जनाएको छ।
हाल चलचित्रको पूर्वतयारी तीव्र रूपमा भइरहेको छ। निर्माण पक्षले आगामी दसैँलगत्तै चलचित्रलाई फ्लोरमा लैजाने तयारी गरेको छ।


