काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुँदैछ।
सेभेज सिज इन्टरनेशनल फिल्म्सले अमेरिकामा चलचित्र प्रदर्शन गर्न लागेको हो। सार्वजनिक विवरणअनुसार ‘बेहुली’ अमेरिकाका २३ राज्यका विभिन्न चलचित्र हलमा प्रदर्शन हुनेछ।
चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ।
अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स र एप्पल सिनेमाजलगायत हलमा चलचित्रका शो तय गरिएको छ।
नेपालमा प्रदर्शनका क्रममा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ‘बेहुली’लाई अमेरिकामा रहेका नेपाली तथा नेपाली चलचित्रप्रेमी दर्शकमाझ पुर्याउन लागिएको प्रस्तुतकर्ता अर्जुन पोखरेलले बताए।
उनका अनुसार चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ नेपाली चलचित्र पुर्याउने प्रयासलाई ‘बेहुली’को अमेरिका प्रदर्शनले निरन्तरता दिएको छ। अमेरिकापछि अन्य मुलुकमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको र ती मुलुक तथा प्रदर्शन मितिबारे क्रमशः जानकारी सार्वजनिक गरिने उनले बताए।
माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ।
चलचित्रले नेपाली समाजको यथार्थ, युवा–युवतीको मनोभाव तथा पारिवारिक सम्बन्धका मार्मिक पक्षलाई कथाको केन्द्रमा राखेको छ। अर्जुन पोखरेल प्रस्तुतकर्ता र प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता छन्।


