काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिंगे दाउ २’को ललितपुरस्थित लाबिम मलको क्यूएफएक्समा प्रिमियर गरिएको छ। फिल्मीकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न प्रिमियरमा चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको छ।
प्रिमियरपछि अधिकांश दर्शकले फिल्मको कथावस्तु, मेकिङ, कलाकारको अभिनय तथा गीतसंगीतको प्रशंसा गरेका छन्। निर्माता सरोज न्यौपानेले निर्देशक ज्ञानेन्द्र देउजाले इमान्दारिताका साथ फिल्म निर्माण गरेको भन्दै प्रशंसा गरे। उनले फिल्म लामो समयसम्म दर्शकको साथ पाउने विश्वास व्यक्त गरे।
कलाकार जयकिशन बस्नेतले ‘झिंगे दाउ २’ले पहिलो हाफमा दर्शकलाई हँसाउने र दोस्रो हाफमा भावुक बनाउने बताए। उनका अनुसार फिल्म ‘धेरै राम्रो’ बनेको छ। उनले बाबुआमासँगै फिल्म हेर्न दर्शकलाई आग्रहसमेत गरे।

फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सिनाले पनि चलचित्रको खुलेर प्रशंसा गरेका छन्। उनले ‘झिंगे दाउ २’लाई पारिवारिक, मनोरञ्जक र मौलिक चलचित्रका रूपमा उल्लेख गर्दै पिरियड सेटिङमा विश्वसनीय फिल्म निर्माण गर्नु चुनौतीपूर्ण भए पनि चलचित्रले त्यसलाई गम्भीरतापूर्वक प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। ईश्वर घिमिरे प्रोडक्सन हेड हुन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।
‘झिंगे दाउ २’को अग्रिम टिकट बुकिङसमेत खुलिसकेको छ। नेपालभरका हलमा फिल्मले उच्च संख्यामा शो पाएको निर्माण पक्षले जनाएको छ। प्रिमियरबाट सकारात्मक प्रतिक्रिया आएपछि फिल्मको जापान प्रदर्शन अधिकारसमेत बिक्री भएको छ।


