काठमाडौँ । राजेन्द्र बस्नेत निर्देशित नेपाली फिल्म ‘कार्की साइँला’को देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ। असोज २ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मले सुरुवाती चरणमै ६० भन्दा बढी शो पाएको छ।
निर्देशक बस्नेतका अनुसार दर्शकको माग र चाप बढ्दै गएमा फिल्मको शो संख्या थपिनेछ। प्रदर्शनको पूर्वसन्ध्यामा खुलेको बुकिङले फिल्मप्रति दर्शकको चासो बढेको संकेत गरेको निर्माण पक्षको भनाइ छ।
‘कार्की साइँला’ भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ तथा दोस्रो विवाहको कथामा आधारित छ। फिल्ममा जितु नेपाल ‘कार्की साइँला’को मुख्य भूमिकामा छन्। प्रियना आचार्य ‘मुन्नी’ उनको जोडीका रूपमा देखिएकी छन्।
फिल्ममा सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारको अभिनय छ।
बालकुमार राईको लगानी तथा कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको कथा सबिन अधिकारी र शंकर धितालले लेखेका हुन्। मुख्य सहायक निर्देशन रोजल थापाको रहेको छ।
डम्बर राईको छायांकन रहेको फिल्म धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरालगायतका स्थानमा खिचिएको हो। किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको ‘लग्यौ परान’ गीतले पछिल्लो समय दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको श्रृङ्गार रहेको फिल्मको पोस्ट प्रोडक्सन ग्लोबल रिल मोशन पिक्चर्सले गरेको हो। मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मलाई कुबेर फिल्मस्ले नेपालभर वितरण गर्दैछ।


