काठमाडौं । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। दसैँको परिवेश र पारिवारिक संवेदनालाई केन्द्रमा राखेर तयार पारिएको पोस्टर शुक्रबार सार्वजनिक गरिएको हो।
विजया दशमीको अवसर पारेर आगामी असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको चलचित्रको पोस्टरमा दसैँको माहोलसँगै पारिवारिक पीडा र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
पोस्टरमा मुख्य अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको जस्तो देखिने भावमा प्रस्तुत गरिएको छ। त्यस्तै विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल र मलिका महत भावुक मुद्रामा देखिएका छन्। पोस्टरको दायाँ र बायाँतर्फ राखिएका पात्रहरूले समेत चलचित्रको कथाप्रति कौतुहलता बढाएका छन्।
पोस्टरमा बुबाको भूमिकामा रहेका प्रदीप रावत स्कुटरमा कतै गइरहेको देखिन्छन् भने अर्कोतर्फका पात्र कसैको खोजीमा रहेको देखिन्छ। साथै ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’ भन्ने भावलाई पोस्टरमा प्रस्तुत गरिएको छ। “‘आउँछु’ भन्ने एउटा झुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्” भन्ने भावुक संवादले चलचित्रको मर्मस्पर्शी कथातर्फ संकेत गर्छ।
पोस्टरमा केही मानिसहरू ढुंगा तरिरहेको दृश्यसमेत समावेश गरिएको छ। यसले चलचित्रको कथामा पारिवारिक संवेदनासँगै सामाजिक तथा द्वन्द्वात्मक पक्षसमेत जोडिएको संकेत गरेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रको पोस्टरले कथावस्तुका केही पक्षलाई संकेत गरे पनि पूर्ण कथा भने सोमबार सार्वजनिक हुने टिजरमार्फत थप खुल्ने निर्माण पक्षले जनाएको छ।
आर्या पन्तको प्रस्तुति रहेको चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका रहेको छ।
चलचित्रका लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ। असोज ३० गतेदेखि प्रदर्शनमा आउने ‘आ बाट आमा २’ले दसैँको पारिवारिक माहोलमा दर्शकलाई भावनात्मक कथासँग जोड्ने अपेक्षा निर्माण पक्षले गरेको छ।


