काठमाडौं । चलचित्र ‘बेहुली’ले प्रदर्शनको पहिलो हप्तामै राम्रो व्यापार गर्दै दोस्रो हप्तामा समेत उत्साहजनक यात्रा जारी राखेको छ। निर्माण पक्षका अनुसार चलचित्रले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार गरेको छ।
चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार प्राप्त व्यावसायिक रिपोर्टका आधारमा ‘बेहुली’ले प्रदर्शनमा आएका तथा यसअघि रिलिज भएका केही चलचित्रको तुलनामा राम्रो व्यापार गरिरहेको छ। देशभरका विभिन्न हलमा चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझी अहिले विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। हल भ्रमणका क्रममा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनीहरूको भनाइ छ।
दर्शकको प्रतिक्रियाले चलचित्रको दोस्रो हप्ताको प्रदर्शनलाई समेत बलियो बनाएको निर्माण पक्षको दाबी छ। ‘बेहुली’ हेरेपछि दर्शकले चलचित्रको कथा, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेको निर्माण पक्षले जनाएको छ।
नेपालमा प्रदर्शन भइरहेको ‘बेहुली’ अमेरिका, अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशमा समेत प्रदर्शनमा आएको छ।
चलचित्रले नेपाली समाजको यथार्थ, युवा पुस्ताको मनोभाव तथा पारिवारिक सम्बन्धसँग जोडिएका भावनात्मक पक्षलाई कथाको आधार बनाएको छ। चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँलगायत कलाकारको अभिनय रहेको छ।
‘बेहुली’को लेखन माधव शर्माले गरेका हुन् भने निर्देशन सशान कँडेलले गरेका छन्। अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता छन्।
पहिलो हप्ताको उत्साहजनक व्यापारपछि दोस्रो हप्तामा समेत दर्शकको साथ पाइरहेको ‘बेहुली’ले आगामी दिनमा आफ्नो व्यावसायिक यात्रा कस्तो बनाउँछ भन्नेमा चलचित्र क्षेत्रको चासो देखिएको छ।


