काठमाडौं । नेपाली चलचित्र ‘कार्की साइँला’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। निर्माण पक्षका अनुसार फिल्मले अधिकांश हलमा बिहानी शोदेखि नै उत्साहजनक सुरुवात गरेको छ।
फिल्म प्रदर्शनको पहिलो दिन मुख्य अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ले बिहानै पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेकी छन्। यही चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी आचार्यले आफ्नो पहिलो फिल्म सफल होस् भन्ने कामनासहित पशुपतिनाथको दर्शन गरेको बताएकी छन्।
दर्शनपछि उनले आफ्नो डेब्यु फिल्म दर्शकमाझ आएको विशेष दिनमा भगवान् पशुपतिनाथको आशीर्वाद लिएको बताउँदै दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरेकी छन्।
फिल्मको सफलताका लागि विभिन्न कलाकार तथा सेलिब्रेटीहरूले समेत सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै दर्शकलाई हलसम्म पुग्न आग्रह गरेका छन्।
‘कार्की साइँला’ भारी बोकेर जीविका चलाउने एक भरियाको जीवनका उतारचढावसँगै आम नेपालीले भोग्दै आएका संघर्षलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो। फिल्ममा प्रियना आचार्य र जितु नेपाल मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दीप्सन लिम्बू, रोदा राई र कमल देवकोटालगायत कलाकारको अभिनय छ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा बालकुमार राईको लगानी, कृष्ण भगत चाम्लिङको प्रस्तुति र अनन्त राईको कार्यकारी निर्माण रहेको छ। सबिन अधिकारी र शंकर धितालले लेखेको फिल्मलाई डम्बर राईले छायाङ्कन गरेका हुन् भने रोजल थापा मुख्य सहायक निर्देशक छन्।
धनकुटा तथा सुनसरीका बराहक्षेत्र र चतरा लगायतका स्थानमा छायाङ्कन गरिएको फिल्ममा किरण दाहालको द्वन्द्व निर्देशन तथा दीप्सन लिम्बू र संकेत अगस्थीको संगीत रहेको छ। चलचित्रको ‘लग्यौ परान’ बोलको गीतले यसअघि नै दर्शकमाझ राम्रो प्रतिक्रिया पाउँदै आएको निर्माण पक्षले जनाएको छ।
सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट, रबी केसीको शृङ्गार र मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मलाई कुबेर फिल्मस्ले देशभर वितरण गरेको छ। फिल्मको को–प्रोडक्सन ग्लोबल रिल मोसन पिक्चर्सले गरेको छ।


