काठमाडौं । लामो समयदेखि दर्शकको प्रतीक्षामा रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को प्रदर्शन मिति तय भएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी कार्तिक ६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको हो।
फिल्म दशैंको करिब एक सातापछि र तिहारभन्दा झन्डै दुई हप्ता अगाडि दर्शकमाझ पुग्न लागेको हो। यसअघि दशैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको भए पनि नेपाली फिल्मलाई दशैंको समयमा प्रदर्शनको अवसर दिनुपर्ने भन्दै ‘कबड्डी ५’को प्रदर्शन मिति कार्तिक ६ गते तय गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन्।
शुक्रबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो थप बढेको निर्माण पक्षको दाबी छ।
‘कबड्डी ५’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपिन कार्की र मिस यूके नेपाल–२०१७ सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ। विपिन कार्की र सिर्जना गुरुङ यसपटक पहिलोपटक ‘कबड्डी’ शृंखलामा जोडिएका हुन् भने दयाहाङ, मिरुना, विजय, बुद्धि, कमलमणि र अरुणालगायत कलाकारले अघिल्ला श्रृंखलाबाट निरन्तरता पाएका छन्।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्म ‘कबड्डी’ शृंखलाको पाँचौं संस्करण हो। करिब १२ वर्षदेखि निरन्तर अगाडि बढिरहेको यो शृंखलाले नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाएको छ।
पुराना कलाकारसँगै नयाँ कलाकारको प्रवेश र ‘कबड्डी’ शृंखलाको लोकप्रियताका कारण ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’प्रति दर्शकको चासो बढेको छ। कार्तिक ६ गते प्रदर्शनमा आउने फिल्मले तिहारअघि नै नेपाली सिनेमा हलमा उत्साह थप्ने अपेक्षा गरिएको छ।


