काठमाडौँ । नेपालमा प्रदर्शन भइसकेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘हली’ अब बेलायतमा पनि प्रदर्शन हुने भएको छ। चलचित्रको विशेष प्रदर्शन आगामी असोज ४ गते बेलायतको अल्डरशटस्थित ‘प्रिन्सेस हल’मा आयोजना हुने भएको हो।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको बेलायत प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था सपन इन्टरटेनमेन्ट लिमिटेडले जनाएको छ।
बेलायतमा रहेका नेपाली दर्शकलाई लक्षित गरी विशेष प्रदर्शन आयोजना गर्न लागिएको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले बताएका छन्। नेपालमा प्रदर्शनका क्रममा चलचित्रको विषयवस्तु, ट्रेलर, प्रमोशनल गीत तथा पोस्टरले दर्शकमाझ चर्चा पाएको निर्माण पक्षको भनाइ छ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको ‘हली’ले छाउपडी प्रथाका कारण बालिकाले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रले सामाजिक तथा देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन सक्ने सन्देश प्रस्तुत गरेको छ।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय छ। निर्देशक ओम प्रतीक पनि चलचित्रमा कलाकारका रूपमा देखिएका छन्।
चलचित्रको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायत चर्चित कलाकारको नृत्य रहेको छ।
‘हली’मा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्यूसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा छन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ।
जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा गीत समावेश गरिएको चलचित्रको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले गरेका छन्। चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गरिरहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।


