काठमाडौं । असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बा : एक योद्धा’ले काठमाडौंमा सम्पन्न प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ। मंगलबार साँझ आयोजित प्रिमियरमा सहभागी चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारहरूले चलचित्रको कथा नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको प्रतिक्रिया दिएका छन्।
यसअघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाएको चलचित्रले सन्तानका लागि बुवाआमाले गर्ने त्याग र संघर्षसँगै बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ।
रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई चलचित्रले प्रस्तुत गरेको छ। सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने अभिभावक र परदेश पुगेपछि परिवारप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानबीचको द्वन्द्वलाई कथामा देखाइएको छ।
प्रिमियरमा सहभागी अभिनेता हरिवंश आचार्यले चलचित्र हेर्दा आफू भावुक बनेको बताए। उनले चलचित्रले युवाको पलायन र बढ्दो अपेक्षासँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको बताए।
“मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,” आचार्यले भने।

आफ्ना सन्तानको इच्छा पूरा गर्नु नै बुवाआमाको ठूलो चाहना हुने उल्लेख गर्दै उनले चलचित्रले यही भावलाई बुवाको चरित्रमार्फत प्रस्तुत गरेको बताए। उनले दिव्यदेवको अभिनयको प्रशंसा गर्दै चलचित्रले उनलाई आफ्नो अभिनय क्षमता देखाउने राम्रो अवसर दिएको बताए।
आचार्यका अनुसार चलचित्रको सुरुवाती ४०–४५ मिनेटमा कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि चलचित्रले दर्शकलाई समात्दै लैजान्छ। उनले कलाकारको अभिनयसँगै प्राविधिक पक्ष पनि राम्रो रहेको प्रतिक्रिया दिए।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले चलचित्रको कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी रहेको बताए। चलचित्रले समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई प्रस्तुत गरेको उनको भनाइ थियो।
“हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,” उनले भने।

अभिनेत्री ऋचा शर्माले चलचित्रलाई ‘एकदमै मिठो’ प्रतिक्रिया दिइन्। उनले झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापाको अभिनयमा पनि क्रमशः निखार आएको बताइन्।
चलचित्रको मुख्य आकर्षणका रूपमा दिव्यदेवलाई उल्लेख गर्दै ऋचाले भनिन्, “यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ– दिव्य देव पन्त।”
कलाकार पुष्पा थिङ लामाले पनि चलचित्रले आफूलाई भावुक बनाएको बताइन्। विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र चलचित्रमा आउने ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले आफूलाई छोएको उनको प्रतिक्रिया थियो।
“धेरै ठाउँमा रुवायो । अझ स्पेशली ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो । त्यो कस्तो निरीह अवस्था ! कसैको बुवा अथवा कसैको जिन्दगीमा त्यस्तो अवस्था नआओस् भन्ने लाग्यो,” उनले भनिन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।
‘बा : एक योद्धा’ असोज ९ गते अर्थात् शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।


