काठमाडौं । नेपाली चलचित्रको शुक्रबार तीन फरक कथाले दर्शकलाई हलसम्म बोलाउने भएका छन्। पारिवारिक भावनादेखि एक्सन र सामाजिक विभेदसम्मका विषय समेटिएका ‘बाः एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ आजदेखि प्रदर्शनमा आएका हुन्।
‘बाः एक योद्धा’ले परिवार र अभिभावकको त्यागलाई केन्द्रमा राखेको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापालगायत कलाकारको अभिनय छ। वसन्त लम्साल निर्माता रहेको चलचित्रले सन्तानका लागि जीवनभर संघर्ष गर्ने अभिभावकको कथा प्रस्तुत गर्छ।
एक्सनप्रधान चलचित्र ‘आचार्य’मा निखिल उप्रेती मुख्य भूमिकामा छन्। निखिलकै लेखन, निर्देशन तथा निर्माण रहेको चलचित्रमा दक्षिण भारतीय र बलिउड कलाकारको समेत सहभागिता छ। पूर्णिका सिजापतीले यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गरेकी छन्।
त्यस्तै, ‘जदौ’ले सामाजिक विषयलाई पर्दामा ल्याएको छ। अञ्जन शर्मा र काजी लिम्बूको निर्देशन रहेको चलचित्र जातीय विभेद, अन्तरजातीय सम्बन्ध र सामाजिक अवरोधको कथामा आधारित छ। मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह र प्रभात पाल ठकुरीलगायत कलाकार चलचित्रमा देखिएका छन्।
फरक विषयवस्तु बोकेर एकैदिन प्रदर्शनमा आएका यी तीन चलचित्रले नेपाली दर्शकमाझ आफ्नो कथा र प्रस्तुतिमार्फत स्थान बनाउने प्रयास गरेका छन्।


