काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित भएको छ। निर्माण पक्षले लगातार भइरहेको भारी वर्षा र प्रतिकूल मौसमका कारण असोज ९, १० र ११ गते छायांकन रोकिएको जनाएको हो।
निर्माण पक्षका अनुसार सरकारले जारी गरेको उच्च सतर्कतासम्बन्धी सूचना तथा मौसमको अवस्थालाई मध्यनजर गर्दै कलाकार र प्राविधिक टोलीको सुरक्षा तथा सहजतालाई प्राथमिकतामा राखेर छायांकन स्थगित गर्ने निर्णय गरिएको हो।
निर्माता सुप्रिया कटुवालद्वारा जारी विज्ञप्तिमा कठिन मौसमका कारण सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ। सुरक्षा नै पहिलो प्राथमिकता हो।’
४५ दिनको सेड्युलसहित पोखराबाट छायांकन सुरु गरिएको चलचित्र अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक थापाका अनुसार गीतबाहेक चलचित्रका अधिकांश दृश्यको छायांकन सकिएको छ। बाँकी गीतको छायांकन पनि अबको १० दिनभित्र पूरा गर्ने तयारी निर्माण पक्षको छ।
‘प्रेम गीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको लामो समयपछि यसै चलचित्रमार्फत पुनर्मिलन भएको हो। रोमान्टिक कथामा आधारित चलचित्रमा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय छ।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको चलचित्रको पटकथा तथा संवाद रामशरण पाठकले लेखेका हुन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र विक्रम स्वारको नृत्य निर्देशन रहनेछ। सुशीला केसी र आकृति पन्तले ड्रेस डिजाइन गरेका छन् भने साहिल खानले ट्रेलर सम्पादन गरेका छन्।
विराज ढुंगाना कानुनी सल्लाहकार रहेको चलचित्रको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो। वितरणको जिम्मेवारी भीष्म फिल्म्स् र श्री राम बालाजीले लिएका छन्।‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।



