काठमाडौं । प्रदर्शनको पहिलो सातामै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरिएको छ।
असोज २ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्र हेरेपछि कतिपय दर्शक भावुक हुँदै हलबाट निस्किएको तथा कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र गीतसंगीतको प्रशंसा भइरहेको निर्माण पक्षको भनाइ छ।
यही क्रममा चलचित्रको प्रदर्शनको एक सातापछि निर्माण पक्षले नयाँ गीत सार्वजनिक गरेको हो। भावनात्मक विषयवस्तु समेटिएको गीतमा घरमा आमाको उपस्थितिको महत्व र आमा नहुँदाको पीडालाई प्रस्तुत गरिएको छ।
कुशल बेलबासेको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ। गीतले आमासँग जोडिएका पारिवारिक भावना र सम्बन्धलाई केन्द्रमा राखेको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेका छन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। अर्जुन पोखरेलले संगीत दिएका छन् भने ईश्वर घिमिरे प्रोडक्सन हेड हुन्।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। नयाँ गीत सार्वजनिक भएसँगै चलचित्रको भावनात्मक पक्षलाई दर्शकले थप नजिकबाट महसुस गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।


