काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित चलचित्र ‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक गरिएको छ। गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीमा तयार पारिएको गीतले चलचित्रप्रति दर्शकको चासो थप बढाउने अपेक्षा निर्माण पक्षको छ।
गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द रहेको छ। एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन्।
गीतको भिडियोमा उपासना सिंह ठकुरी र सोनम तोप्देन फिचर्ड छन्। रत्न बीकेको बाँसुरी, मदन रेग्मीको मादल तथा खैंजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारंगीको प्रस्तुतिले गीतमा मौलिकता थपेको छ।
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर र प्रवेश राईलाई पनि देख्न सकिन्छ।
यसअघि चलचित्रको ‘चाँदी चलप’ बोलको गीत सार्वजनिक गरिएको थियो। उक्त गीतलाई दर्शकले रुचाएपछि निर्माण पक्षले दोस्रो गीतले पनि दर्शकको उत्तिकै माया पाउने अपेक्षा गरेको छ।
‘जलाकी’मा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।
यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गरेकी छन्। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी छन्।
‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको नयाँ प्रस्तुति ‘जलाकी’लाई लिएर निर्माण पक्ष उत्साहित छ। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।


