काठमाडौं । अभिनेता कामेश्वर चौरासियालाई महिलाको र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको पोस्टर सार्वजनिक भएपछि चर्चामा आएको फिल्म ‘परिवार’को टिजर सार्वजनिक भएको छ। रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको टिजरले कथाप्रति दर्शकको कौतुहलता बढाएको छ।
टिजरको सुरुवातमा कामेश्वर र लक्ष्मीबीचको खटपट देखाइएको छ। लक्ष्मीले कामेश्वरलाई आफ्नो विश्वासका कारण परिवारको वास्ता नगरी भागेर आएको बताउँछिन्। त्यसको जवाफमा कामेश्वरले उनलाई विलासी जीवन चाहिएको भए पीआरवालासँग जानुपर्ने भन्दै व्यङ्ग्य गर्छन्। उनीहरूको संवादले परिवारको मञ्जुरीविना विवाह गरेको संकेत गर्छ।
टिजरमा छोरीको भूमिकामा देखिएकी पात्रले भगवानसँग आफ्ना बाबुआमाबीच कहिल्यै झगडा नहोस् भन्ने प्रार्थना गरेको दृश्य पनि छ। त्यसपछि आउने दृश्यले भने टिजरलाई थप रोचक बनाएको छ। सुतेर उठेका कामेश्वर र लक्ष्मीले आ–आफ्नो शरीर छाम्दै आश्चर्य व्यक्त गरेको देखिन्छ।
उनीहरू किन यस्तो अवस्थामा पुगे भन्ने कौतुहलता भने फिल्म प्रदर्शनपछि मात्रै खुल्नेछ। फिल्म आगामी कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मलाई मदन थापाले निर्देशन गरेका हुन्। ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहित निर्माण गरिएको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतको अभिनय छ।
फिल्मको लेखन प्रेम थापा र गणेश उपाध्यायले गरेका हुन्। निरज कँडेल डीओपी रहेको फिल्ममा विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन छ।
रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माताका रूपमा छन्। फिल्मको टिजर म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


