काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमार्फत चलचित्र आगामी २०८३ साल माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि नेपालका सिनेमाघरमा प्रदर्शनमा आउने जानकारी दिएको हो।
नयाँ पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका प्रमुख पात्र ‘पुन्य चौलागाईं’को फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि–पछाडि पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मकसँगै कौतुहलपूर्ण बनाएको छ।
चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किएसम्म शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिने क्रममा उत्पन्न हुने रमाइला तथा उथलपुथलपूर्ण परिस्थितिको वरिपरि घुमेको छ। यसअघि निर्माण पक्षले गाउँलेहरू पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्य समेटिएको पोस्टर सार्वजनिक गरेको थियो।

‘बेहुली फ्रम मेघौली’पछि सजन काफ्ले र आकाश बरालको जोडीले संयुक्त रूपमा निर्देशन गरेको यो दोस्रो चलचित्र हो। चलचित्रको कथा तथा पटकथा पनि काफ्ले र बरालले नै तयार पारेका हुन्।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायत कलाकारको अभिनय छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन्। चानस पुन मगर सम्पादक, राजेन्द्र मोक्तान रङ्ग संयोजक तथा अङ्कित बाबु अधिकारी सङ्गीतकार छन्। चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्।
चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डीसीएनले वितरण गर्नेछ।


