काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको राम्रो साथ पाउन थालेको छ।
प्रदर्शनका सुरुवाती तीन दिन वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाए पनि मंगलबारदेखि चलचित्रका हलमा दर्शकको चाप बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ। मंगलबारदेखि लागू गरिएको ५० प्रतिशत छुट ‘डिल डे’ का कारण पनि दर्शकको उपस्थिति बढेको बताइएको छ।
मंगलबार देशभर ७९ शो पाएको चलचित्रका धेरै शो हाउसफुल भएका थिए। दर्शकको माग बढेपछि बुधबार चलचित्रको शो संख्या १०० भन्दा बढी पुगेको वितरकले जनाएको छ।
चलचित्रप्रति दर्शकको प्रतिक्रियामा भावनात्मक पक्ष प्रमुख देखिएको छ। बाबुआमाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षालाई चलचित्रले प्रस्तुत गरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन्।
कतिपय दर्शकले चलचित्रले आफ्नै परिवारको कथा सम्झाएको बताएका छन् भने बाबुआमाको त्याग र सन्तानको दायित्वलाई चलचित्रले भावनात्मक रूपमा उठाएको प्रतिक्रिया दिएका छन्।
चलचित्रको कलाकार टोली पनि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिइरहेको छ। बढ्दो दर्शक उपस्थिति र सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको कलाकारहरूले बताएका छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।


