काठमाडौँ । आगामी बडादशैँ अर्थात् असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको पारिवारिक चलचित्र ‘आ बाट आमा २’को अन्तिम छायांकनका लागि हङकङ पुगेको मुख्य टिमलाई भव्य सम्मान गरिएको छ।
हङकङमा सक्रिय इभेन्ट व्यवस्थापन संस्था खुसी इभेन्टस्ले आयोजना गरेको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा चलचित्रका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई सम्मान गरिएको हो।
गुरुङ संस्कृति तथा परम्पराअनुसार अतिथिहरूलाई फेटा गुथाएर खादा, पुष्पगुच्छा तथा मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो। हङकङमा चलचित्रको छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी सम्हालिरहेको खुसी इभेन्टस्की निर्देशक खुसी गुरुङले नेपाली चलचित्रका स्थापित निर्देशक तथा कलाकारलाई स्वागत र सम्मान गर्न पाउँदा गर्व लागेको बताइन्। उनले आगामी दिनमा पनि प्रवासमा हुने नेपाली चलचित्रका छायांकन तथा अन्तर्राष्ट्रिय शोमा सहजीकरण र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
सम्मान ग्रहण गर्दै अभिनेता पल शाहले प्रवासमा रहेर पनि नेपाली चलचित्र, भाषा र संस्कृतिप्रति हङकङवासीले देखाएको माया तथा समर्पणले आफूलाई भावुक बनाएको बताए। उनले हङकङमा आफ्ना चलचित्रले पाउँदै आएको दर्शकको साथले आफूलाई अझ राम्रो काम गर्न प्रेरणा मिलेको उल्लेख गरे।
त्यस्तै, निर्देशक चन्द्र पन्तले छायांकनको व्यस्तताबीच प्राप्त आत्मीय सम्मानका लागि खुसी इभेन्टस् र हङकङवासी दर्शकप्रति आभार व्यक्त गरे। उनले चलचित्रका प्रारम्भिक प्रचार सामग्रीले पाएको उत्साहजनक प्रतिक्रियाप्रति पनि खुसी व्यक्त गरे।
चलचित्रका सार्वजनिक भएका आधिकारिक टिजर र पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाइसकेका छन्। चलचित्रका पोस्टरसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर हुनुका साथै सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘आ बाट आमा २’को हङकङ छायांकन सेड्युल सम्पन्न भएसँगै टिम नेपाल फर्किएर अन्तिम पोस्ट–प्रोडक्सनको काम अघि बढाउने तयारीमा छ।
पारिवारिक विछोड र आमाप्रतिको अगाध प्रेमको कथामा आधारित यो चलचित्र आगामी २०८३ असोज ३० गते बडादशैँको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।


