काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। चलचित्रको निर्माण पक्षले दर्शकमाझ टिजर सार्वजनिक गर्दै प्रदर्शनको तयारीलाई थप तीव्र बनाएको हो।
टिजरमा अनमोल केसीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। चलचित्रको कथावस्तु, पात्र र सम्बन्धका विभिन्न पक्षलाई संकेत गर्ने दृश्यहरू टिजरमा समेटिएका छन्।
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यसअघि सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खड्कालाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको थियो।
चलचित्रमा भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रियर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्माताका रूपमा छन्। चलचित्रको लेखन समीप्यराज तिमिल्सिना र सरिन पोखरेलले गरेका हुन्।


