काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सम्पन्न भएको छ।
भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु भएको फिल्मको छायांकन अधिकांश भाग त्यहीँ गरिएको हो। काठमाडौंमा समेत तीन रात फिल्मका महत्वपूर्ण दृश्यहरू खिचिएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन्। अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहेको छ।
ओविद उद्दिनको निर्देशन रहेको फिल्ममा वशिष्ट प्रधानले छायांकन गरेका छन्। प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे रहेका छन् भने महेश बराल मुख्य सहायक निर्देशकका रूपमा छन्।
निर्देशक उद्दिनले टिमको निरन्तर मेहनतका कारण निर्धारित समयमै छायांकन पूरा गर्न सफल भएको बताए। आफूलाई सुरुदेखि नै हरर जनराका फिल्म मन पर्ने भएकाले ‘भिडियोटेप’मार्फत यही जनरामा काम गर्न आकर्षित भएको उनको भनाइ छ।


