काठमाडौं । प्रदर्शनको दोस्रो शनिबार चलचित्र **‘बाः एक योद्धा’**ले देशभर उत्साहजनक अकुपेन्सी कायम राखेको छ। शनिबारका लागि पाएको ७४ शमध्ये दिउँसो साढे १२ बजेसम्म ५४ शो हाउसफूल भइसकेका छन्।
अग्रिम बुकिङमै अधिकांश शोका टिकट बिक्री भएपछि चलचित्र हेर्न चाहने दर्शकका लागि शो अभाव देखिएको निर्माण पक्षले जनाएको छ। बाँकी शोको बुकिङ पनि तीव्र गतिमा भइरहेको निर्माता वसन्त लम्सालले बताए।
दर्शकको माग बढेपछि विभिन्न स्थानका हलले थप शो उपलब्ध गराउन थालेका छन्। लम्सालका अनुसार काठमाडौं, भक्तपुर, पोखरा र चितवनका केही हलमा मध्याह्नपछि अतिरिक्त शो थपिएको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। शुक्रबारसम्म चलचित्रको कुल ग्रस कलेक्सन १ करोड ३० लाख रुपैयाँ पुगेको निर्माता पक्षले जनाएको छ। दर्शकको चाप बढ्दै जाँदा दैनिक कलेक्सनमा समेत सुधार भइरहेको निर्माण पक्षको दाबी छ।
**‘बाः एक योद्धा’**ले नेपाली समाजमा सन्तानको भविष्यका लागि आमाबाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। सन्तानका इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र पीडासम्मका विषय चलचित्रमा प्रस्तुत गरिएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल र सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।


