काठमाडौँ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन अहिले पश्चिम नेपालको दाङमा धमाधम भइरहेको छ। कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको फिल्ममा अब अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह पनि जोडिएका छन्।
छायांकन सुरु हुँदा फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य कलाकारका रूपमा रहने जानकारी सार्वजनिक गरिएको थियो। निर्माण पक्षले पछिल्लो समय विपिन र निरुताको पनि फिल्ममा प्रवेश भएको जनाएको हो।
निर्देशक सुनारका अनुसार निरुता सिंहले केही दिनमै फिल्मको छायांकन सुरु गर्नेछिन् भने विपिन कार्कीले दशैँपछि छायांकनमा सहभागी हुनेछन्। दुवै कलाकारको भूमिकाबारे भने निर्माण पक्षले केही खुलाएको छैन।

सञ्जिव सार्कीको लगानी रहेको फिल्ममा दिनेश सिंह महरा कार्यकारी निर्माता छन्। फिल्मको छायांकन संकल्प भुजेलले गरिरहेका छन्। प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहने फिल्ममा प्रकाश हमाल निर्माण प्रमुख छन्।
करणबहादुर साउद मुख्य सहायक निर्देशक, रामजी लामिछाने नृत्य निर्देशक तथा एनबी महर्जन एक्सन निर्देशकका रूपमा छन्। मदन सुरखेतीको सह–लेखन रहेको फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजर छन्।
एक महिनाको छायांकन तालिका बनाएर निर्माण भइरहेको फिल्मले सामाजिक विषयवस्तुलाई कथाको आधार बनाएको निर्देशक सुनारले बताए। उनका अनुसार महिलाको जीवनमा सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई फिल्ममा प्रस्तुत गरिनेछ।
‘सिन्दूर’को प्रदर्शन मिति भने तय भइसकेको छैन।


