काठमाडौं । ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको पूर्ण सम्पादन गरिसकेका छन्। ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरिसकेका खानले दृश्य प्रचारमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
खानका लागि पूर्ण चलचित्रको सम्पादन र टिजर–ट्रेलर निर्माण दुई फरक कलात्मक विधा हुन्। पूर्ण चलचित्र सम्पादनमा स्क्रिप्टको मर्म, कथाको न्यारेसन, निर्देशकको दृष्टिकोण र सम्पादकको सिर्जनात्मक सोचबीच निरन्तर तालमेल आवश्यक पर्ने उनी बताउँछन्।
‘फिल्म सम्पादन गर्न लामो समय लाग्छ। स्क्रिप्टको मर्म समात्नुपर्छ, निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ र दर्शकको आँखा नबिझ्ने गरी दृश्यको प्रवाह मिलाउनुपर्छ,’ खान भन्छन्, ‘हरेक दृश्य, भावना र कथाको गतिका विषयमा निर्देशक तथा लेखकसँग गहन छलफल गरेर अगाडि बढ्नुपर्ने भएकाले फिल्म सम्पादन निकै अनुशासित, जिम्मेवार र जटिल विधा हो।’
टिजर–ट्रेलरमा सम्पादकको सिर्जनशीलता
पूर्ण चलचित्रको तुलनामा टिजर र ट्रेलर सम्पादनमा सम्पादकले आफ्नो व्यक्तिगत सिर्जनशीलतालाई अझ स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने खानको अनुभव छ।
उनका अनुसार सीमित समयभित्र फिल्मका प्रभावशाली दृश्य छनोट गरेर दर्शकको ध्यान तान्ने, कौतुहलता जगाउने र कथाप्रति उत्सुकता पैदा गर्ने गरी दृश्य भाषा निर्माण गर्नुपर्ने भएकाले टिजर–ट्रेलर सम्पादन छुट्टै रोमाञ्चक प्रक्रिया हो।
‘टिजर–ट्रेलर काट्दा आफ्नो व्यक्तिगत क्रिएटिभिटी लगाउन पाइन्छ। सीमित समयभित्र फिल्मका उत्कृष्ट पार्टहरू छानेर दर्शकलाई आकर्षित गर्ने र कौतुहलता जगाउने गरी दृश्य भाषा निर्माण गर्न पाइने भएकाले यसमा काम गर्दा छुट्टै मजा आउँछ,’ उनले भने।
‘आ बाट आमा २’ मा उच्च मिहिनेत र आत्मविश्वास
‘आ बाट आमा’को पहिलो भाग सम्पादन गरेका साहिल खानले उक्त चलचित्रले १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको दाबी गरेका छन्। अहिले उनी सोही चलचित्रको दोस्रो भाग ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन्।
चलचित्रको टिजर तथा पहिलो गीत ‘अचेल किन कान्छी’ ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेका छन्। टिजरमा गरिएको सिर्जनात्मक प्रयोगले दर्शकको ध्यान खिचेपछि पूर्ण चलचित्रको सम्पादनमा पनि स्क्रिप्ट, भावना र दृश्य प्रवाहबीच सन्तुलन कायम गरिएको खानको भनाइ छ।
चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा पल शाह र मलिका महत मुख्य भूमिकामा छन्। पारिवारिक कथावस्तुमा आधारित यो चलचित्र आगामी असोज ३० गते बडादशैँको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
साहिल खानको चुस्त दृश्य संयोजनले चलचित्रलाई प्राविधिक तथा भावनात्मक रूपमा थप प्रभावशाली बनाउने निर्माण टिमको विश्वास छ।


