काठमाडौँ, असोज २१ गते । दसैँलक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकायबिच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको हो ।
यसै गरी घटस्थापना (असोज २५ गते) देखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीसाधनलाई भने बन्देज कायमै रहने निर्णय भएको छ ।
यस्तै नारायणगढ–काठमाडौँ सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठुला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौँ रुटमा खाद्य सामग्री, औषधी, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनबाहेक ठुला सवारी चलाउन पाइने छैन ।
काठमाडौँ उपत्यकाबाट दसैँ मान्न धेरै यात्रु आआफ्नो घरमा जाने हुँदा उनीहरूलाई लक्ष्य गरेर अग्रिम टिकट बुकिङ खुलालगायतका निर्णय गरिएको हो । विगतका वर्ष दसैँलाई लक्ष्य गरेर एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुला हुने गरेकामा यस वर्ष बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा ढिला भएको हो ।
यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाले दसैँलक्षित शुक्रबारदेखि यातायातको अग्रिम टिकट खुला गरिने जानकारी दिनुभयो । भत्केको सडक मर्मतसम्भार गर्ने र ट्र्याक खोलेर भए पनि यातायात सुचारु गर्ने निर्णय गरी टिकट खुला गरिएको उहाँले जानकारी दिनुभयो ।
वर्षाका कारण जुनसुकै बेला बाटो अवरुद्ध हुन सक्ने भएकाले डोजर परिचालन गरी तत्काल बाटो सुचारु गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । चाडपर्वको मौका छोपेर तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने उहाँले जानकारी दिनुभयो । निर्देशक खतिवडाले टिकट आधिकारिक काउन्टरबाट मात्र खरिद गर्न यात्रुलाई आग्रह गर्नुभयो ।
चाडपर्वका बेला भिडभाड बढी हुने भएकाले तोकिएभन्दा बढी मूल्य लिएको फेला परे तत्काल ट्राफिक प्रहरीसमक्ष उजुरी गर्न निर्देशक खतिवडाले यात्रुलाई आग्रह गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बसपार्क, चाबहिल, बल्खु, कोटेश्वर लगायतका तोकिएका ठाउँबाट यात्रुले टिकट काट्न सकिने जानकारी दिनुभयो ।
विगतका वर्षमा १८ लाखदेखि २० लाखसम्म यात्रु दसैँ मान्न गाउँ जाने गरेकामा यसपालि भने १५ लाखको हाराहारीमा उपत्यका बाहिर जाने अनुमान गरिएको सिटौलाले जानकारी दिनुभयो । “भोटेकोशीको बाढीले धेरै सवारीसाधन बगाएको र चालक बेपत्ता भएकाले शोकको अवस्थामा छौँ,” सिटौलाले भन्नुभयो, “अझै पनि ठाउँ ठाउँका सडक बिग्रेकाले सुक्खा पहिरो गइरहेकाले पनि यात्रा जोखिमपूर्ण छ ।”
पानी नियमित परिरहेकाले सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण यात्रा रहेकाले जानैपर्ने यात्रुबाहेक अरूलाई नजानसमेत सिटौलाले आग्रह गर्नुभयो । महासङ्घका अनुसार नागढुङ्गा, कोटेश्वर, बल्खु र टोखा रुटबाट सवारीसाधन उपत्यका बाहिर जाने छन् ।
यात्रुलाई सुरक्षित बनाउन यस पटक सवारी सञ्चालनमै कडाइ गर्ने निर्णय गरिएको छ । महासङ्घका अनुसार लामो दुरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने र टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
दसैँतिहारको समयमा नयाँ बसपार्कसहित विभिन्न टिकट काउन्टरमा यात्रुको भिड अत्यधिक हुने भएकाले सुरक्षाकर्मीको परिचालन पनि बढाइने भएको छ । यस्तै यात्रुको सहजताका लागि १४ वटा नागरिक सहायताकक्ष सञ्चालन गरिने भएको छ ।
महासङ्घका अनुसार अग्रिम टिकट बिक्री, चालक व्यवस्थापन, यात्रुको विवरण अभिलेखीकरण र सुरक्षा व्यवस्थालाई एकसाथ अघि बढाएर दसैँको यात्रालाई सुरक्षित तथा व्यवस्थित बनाउने तयारी गरिएको छ ।
यस्तै सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने महासङ्घले जनाएको छ । सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय भएको महासङ्घले जनाएको छ ।


