काठमाडौं । वरिष्ठ बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोवाको डोना पाउलास्थित आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल अस्पताल लगिएको थियो । तर, चिकित्सकले बिहीबार बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरेका हुन् ।
प्रारम्भिक विवरणअनुसार पाटेकरलाई गम्भीर हृदयाघात भएको थियो । मणिपाल अस्पताल पुर्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म निरन्तर सीपीआरमार्फत उनलाई बचाउने प्रयास गरेका थिए । तर, उपचारको प्रयास सफल हुन सकेन । अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर सालकरले पाटेकरलाई पुनर्जीवित गर्न नसकिएको जानकारी दिएका छन् ।
पाटेकरको निधनपछि मेडिकल–कानुनी मुद्दा (एमएलसी) दर्ता गरिएको छ भने पोस्टमार्टम गरिने जनाइएको छ । उनको निधनको थप कारण र परिस्थितिबारे परिवार तथा सम्बन्धित अधिकारीबाट विस्तृत जानकारी आउन बाँकी छ ।
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकर भारतीय सिनेमाका प्रभावशाली कलाकारमध्ये एक थिए । ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’ तथा ‘वेलकम’ लगायत चलचित्रमा उनले गरेको अभिनयले उनलाई फरक पहिचान दिलाएको थियो ।
गम्भीर तथा चरित्रप्रधान भूमिकामा प्रभावशाली अभिनय, विशिष्ट संवादशैली र सशक्त पर्दा उपस्थितिका कारण पाटेकरले विभिन्न पुस्ताका दर्शकमाझ आफ्नो छुट्टै स्थान बनाएका थिए । अभिनयसँगै उनले निर्देशनमा समेत काम गरेका थिए । भारतीय सिनेमामा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरिएको थियो ।
पाटेकरको निधनको खबरसँगै भारतीय मनोरञ्जन क्षेत्रमा शोक छाएको छ । उनको अन्तिम संस्कार तथा परिवारको आधिकारिक वक्तव्यबारे थप विवरण आउन बाँकी छ ।


