काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ। बिहीबारका लागि तय गरिएको मतदान आज हुन लागेको हो।
महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ। मतदान बिहान ७ बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म चल्नेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको छ।
मतदानपछि मतपेटिकाहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिनेछन्। त्यहाँ १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने निर्वाचन समितिको तयारी छ। मतगणनाका लागि पाँच सय कानुन व्यवसायीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।
निर्वाचन समितिले बिहीबार साँझ मात्रै मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ। समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए। उम्मेदवारीको वैधता परीक्षणमा धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो।
कुल २३ प्रकारका मतपत्र डिजाइन गरिएकोमा एक लाख ८० हजार मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो। तर, समितिले दुई लाख प्रति मतपत्र छपाइ गरेको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सम्पन्न भएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन्।


