काठमाडौं । नेपाली मेकअप आर्टिस्ट तथा सौन्दर्य व्यवसायी लेमी तामाङले विश्वप्रसिद्ध फेसन मञ्च पेरिस फेसन विकमा ब्याकस्टेज मेकअप आर्टिस्टका रूपमा काम गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान विस्तार गरिरहेकी छन्। सौन्दर्य क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव बटुलेकी लेमीको यो सहभागिताले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय फेसन उद्योगमा प्रस्तुत गरेको छ।
नेपालबाट सुरु भएको लेमीको व्यावसायिक यात्रा मुम्बई हुँदै दुबई, मिलान र न्यूयोर्कसम्म पुगेको छ। सानै उमेरदेखि कला र मेकअपमा रुचि राख्ने उनले फाइन आर्ट्सको पृष्ठभूमिसहित नेपालमै आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि मुम्बईमा केही वर्ष सौन्दर्य तथा फेसन उद्योगमा काम गरेकी उनले विभिन्न अन्तर्राष्ट्रिय सहरमा फेसन शो, एडिटोरियल, कमर्सियल प्रोजेक्ट, प्रोडक्सन तथा सौन्दर्य अभियानमा अनुभव हासिल गरिन्।
एक दशकभन्दा लामो अनुभवपछि पेरिस फेसन विकमा काम गर्ने अवसर उनका लागि करियरको सुरुवातदेखि देखेको सपना पूरा हुनुजस्तै बनेको छ। अन्तर्राष्ट्रिय फेसन उद्योगका डिजाइनर, मोडल, क्रिएटिभ तथा प्रोडक्सन टिमसँग सहकार्य गर्दै उनले आफ्नो व्यावसायिक अनुभवलाई थप फराकिलो बनाइरहेकी छन्।
मेकअप आर्टिस्टका रूपमा अन्तर्राष्ट्रिय करियर अघि बढाइरहेकी लेमीले सौन्दर्य व्यवसायमा पनि आफ्नो उपस्थिति विस्तार गरेकी छन्। उनले सन् २०२१ मा ‘Pastel Beauty’ नामक नेपाली ब्यूटी ब्रान्ड स्थापना गरेकी थिइन्। नेपाली बजारमा उच्च गुणस्तरका मेकअप उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस ब्रान्डले कम्प्लेक्सन प्रोडक्ट, विभिन्न मेकअप सामग्री तथा प्रोफेसनल मेकअप ब्रस उपलब्ध गराउँदै आएको छ।
ब्रान्डका उत्पादनहरू दक्षिण कोरियास्थित सौन्दर्य सामग्री उत्पादन केन्द्रमा निर्माण हुँदै आएका छन्। Pastel Beauty ले आफ्नो उत्पादन दायरा विस्तार गर्दै नयाँ सामग्री विकासमा समेत काम गरिरहेको छ।
यसैगरी, लेमीले सन् २०२५ मा ‘Bisou Beauty’ नामक अर्को ब्यूटी ब्रान्ड सुरु गरिन्। युवा पुस्तालाई लक्षित गर्दै रमाइलो शैली र आत्मअभिव्यक्तिलाई प्राथमिकता दिने यस ब्रान्डले किफायती मूल्यमा लिपस्टिकलगायत विभिन्न मेकअप सामग्री उपलब्ध गराउँदै आएको छ। ब्रान्डले आगामी दिनमा थप उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालमा मेकअप आर्टिस्टका रूपमा सुरु भएको उनको यात्रा अहिले अन्तर्राष्ट्रिय फेसन मञ्चसम्म पुगेको छ। व्यावसायिक अनुभवसँगै आफ्नै दुईवटा सौन्दर्य ब्रान्ड निर्माण गरेकी लेमीले मेकअप कला र उद्यमशीलतालाई सँगसँगै अघि बढाएकी छन्।
पेरिस फेसन विकमा उनको सहभागिता व्यक्तिगत करियरको महत्वपूर्ण उपलब्धि हो। साथै, अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य क्षेत्रमा नेपाली प्रतिभाले आफ्नो पहिचान स्थापित गर्न सक्ने सम्भावनालाई पनि यसले उजागर गरेको छ।


