काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ गते (अक्टोबर ९) देखि हुने भनिएको प्रदर्शन स्थगित गरिएको छ। निर्माण टिमले चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेपछि तत्कालका लागि रिलिज रोकिएको जनाएको छ।
नेपाल र भुटानमा प्रदर्शनको तयारीमा रहेको चलचित्रले ग्रान्ड प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माण टिमले प्रदर्शनको दायरा विस्तार गर्ने निर्णय गरेको हो। अब चलचित्रलाई दुई देशमा मात्र सीमित नराखी विभिन्न देशका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ।
निर्माण टिमका अनुसार विश्वव्यापी प्रदर्शनका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा भएपछि चलचित्रको नयाँ रिलिज मिति घोषणा गरिनेछ।
‘टनेल २६’ डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सलगायतको सहकार्यमा निर्माण भएको हो। डोर्जिस प्रोडक्सनका तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माणमा जोडिएका छन्। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन्। निर्माणमा सिजी ग्रुपका निर्वाण चौधरी पनि संलग्न छन्।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका छन्। यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका रहेको छ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङको छ। कृष्ण शर्माले निर्माण डिजाइनको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, पेमा लामोले निर्माण व्यवस्थापन तथा ब्लु छेरिङ दोर्जीले मेकअप र कस्ट्युमको जिम्मेवारी सम्हालेका छन्।
चलचित्रमा टेरड्साक जानपानको संगीत र करण थामावोङको ध्वनि रहेको छ। निर्माण व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो तथा सन्तोष कुमार कार्की पनि जोडिएका छन्।
प्रदर्शन स्थगित गर्नुपरेकोमा निर्माण टिमले दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूसँग क्षमायाचना गरेको छ। चलचित्रप्रति दर्शकले देखाएको माया, उत्साह र विश्वासका लागि आभार व्यक्त गर्दै टिमले ‘टनेल २६’ लाई अझ व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यसहित विश्वव्यापी प्रदर्शनको तयारी अघि बढाएको जनाएको छ।


