काठमाडौं । आगामी असोज ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा–२’ को प्रचारप्रसारलाई तीव्र बनाइएको छ। प्रचार अभियानअन्तर्गत चलचित्रका कलाकार पल शाह, मलिका महत, विपना थापासहितको टोलीले बुटवलमा भव्य कन्सर्ट गरेको छ।
बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा कलाकारहरूको प्रस्तुति हेर्न बिहानैदेखि हजारौँ दर्शक उपस्थित भएका थिए। पल शाह, मलिका महत र विपना थापालाई प्रत्यक्ष हेर्न दर्शकको उल्लेख्य भीड लागेको थियो। कलाकारहरू स्टेजमा उक्लिएसँगै दर्शकले हुटिङ र ताली बजाएर उत्साह व्यक्त गरेका थिए।
कन्सर्टमा चलचित्रका कलाकारहरू विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य र रिस्ता गुरुङ सहभागी थिए। उनीहरूसँगै गायक बाबुल गिरी तथा गायिका गंगा सोनाम र जुरीले पनि प्रस्तुति दिएका थिए।

चलचित्रका गायक, संगीतकार तथा गीतकार बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मका गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे। यस्तै, पल शाह, मलिका महत, विपना थापा, निकिता आचार्य, आकाश श्रेष्ठ र रिस्ता गुरुङले नृत्य प्रस्तुत गर्दै कन्सर्टको माहोल तताए। बिहीबार सार्वजनिक गरिएको दशैँ गीतमा कलाकारहरूले नृत्य प्रस्तुत गर्दा दर्शकको हुटिङ झनै चर्किएको थियो।
चलचित्रका निर्देशक चन्द्र पन्तले प्रचारप्रसारलाई तीव्रता दिन आफूहरू देश दौडाहामा निस्किएको बताए। उनले बुटवलमा दर्शकबाट उत्साहजनक माया पाएको उल्लेख गरे।
‘कन्सर्टमा कलाकारहरूको उपस्थिति हुने भएकाले दर्शकहरू बिहानै आउनुभएको रहेछ। पल र मलिका स्टेजमा जानेबित्तिकै दर्शकको हुटिङ असाध्यै आएको थियो। अभिनेत्री विपना थापालाई प्रत्यक्ष देख्दा दर्शकले ताली र हुटिङमार्फत माया व्यक्त गर्नुभयो। आकाश श्रेष्ठ र निकिता आचार्यको नृत्यमा वान्स मोरको आवाज आइरहेको थियो। गायक बाबुल र गंगा सोनामको गीतमा पनि दर्शकबाट उस्तै माया पाइयो,’ निर्देशक पन्तले भने।
कन्सर्टमा सहभागी हुनुअघि निर्देशक पन्तसहितको टोलीले पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा आयोजित कार्यक्रममा कलाकार तथा पत्रकारबीच चलचित्रका विभिन्न पक्षबारे छलफल गरिएको थियो।
चन्द्र पन्तको कथा तथा पटकथा रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका रहेको छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।


