काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत चलचित्र ‘३६ को आँकडा’ले आफ्नो प्रचारलाई तीव्रता दिएको छ । चलचित्रको नयाँ गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक गर्दै निर्माण पक्षले दर्शकमाझ उत्सुकता बढाउने प्रयास गरेको छ ।
घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर सुन्न सकिन्छ । सुरेश अधिकारीको शब्द रहेको गीतले चलचित्रको सांगीतिक पक्षलाई दर्शकमाझ प्रस्तुत गरेको छ ।
सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र पारिवारिक कथावस्तुमा आधारित छ । चलचित्रमा रेखा थापासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । फरक पुस्ताका कलाकारलाई एउटै पर्दामा उतारिएकाले पनि चलचित्रलाई चासोका साथ हेरिएको छ ।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ । पारिवारिक सम्बन्ध, मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई कथाको मुख्य आधार बनाइएको चलचित्रले दर्शकलाई कस्तो अनुभव दिनेछ भन्ने प्रतीक्षा छ ।
‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


