काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ। असोज २ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको चलचित्रको पहिलो सेड्युलको छायांकन पूरा भएको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन्।
छायांकनका क्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भएर दृश्यहरूको अवलोकन गरेका थिए। उनले छायांकन भइरहेका दृश्य हेर्नुका साथै आवश्यक सुझावसमेत दिएका थिए।
निर्देशक चाम्सका अनुसार आफ्नै जीवनकथामा आधारित चलचित्रको छायांकन हेर्दा मदनकृष्ण भावुक भएका थिए। चलचित्रको कामप्रति उनी सन्तुष्ट रहेको पनि चाम्सले बताएका छन्।
“जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ,” निर्देशक चाम्सले भने। चलचित्रको दोस्रो चरणको छायांकन दसैँलगत्तै सुरु हुने उनले जानकारी दिएका छन्।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी श्रीमती यशोदाको भूमिका अभिनेत्री केकी अधिकारीले निर्वाह गर्नेछिन्। त्यस्तै, अभिनेता अरुण क्षेत्रीले हरिवंश आचार्यको भूमिका निभाउनेछन्। अरुणको जोडीका रूपमा अभिनेत्री वर्षा राउत देखिनेछिन्, जसले हरिवंशकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन्।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका सुख–दुःख र संघर्षलाई चलचित्रमा समेटिनेछ। नेपाली कला क्षेत्रमा ‘मह जोडी’का रूपमा परिचित मदनकृष्ण र हरिवंशको सहकार्य पनि चलचित्रको महत्त्वपूर्ण पक्ष हुनेछ।
मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहनेछ। बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ देखिनेछन्।
चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)ले गरिरहेका छन्। सम्पादन मिलन श्रेष्ठको रहनेछ भने ब्याकग्राउन्ड म्युजिक अलिश कार्की र साउन्ड डिजाइन भरत कँडेलको रहेको छ।
‘म मदनकृष्ण’ आगामी चैत ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछन्।


