काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । चलचित्र जाँच समितिले शुक्रबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । योसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
निर्देशक रामबाबु गुरुङका अनुसार चलचित्रले सेन्सर बोर्डका पदाधिकारीबाट सकारात्मक प्रतिक्रिया पाएको छ । अघिल्ला शृङ्खलामा जस्तै सामाजिक कथालाई हास्यरसका साथ प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया बोर्डका पदाधिकारीबाट आएको उनले बताए ।

यसअघि सार्वजनिक चलचित्रका पोस्टर, टिजर, ट्रेलर र गीतले दर्शकमाझ राम्रो चर्चा बटुलेका छन् । विशेषगरी ट्रेलरमा देखाइएको काजी र उनको टोलीको नयाँ व्यवसाय, काजीको वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपीन कार्कीको ग्याङसँगको टकरावले दर्शकको ध्यान खिचेको छ । बेरोजगारीबाट दिक्क भएका काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेर नयाँ यात्रा सुरु गरेको कथालाई चलचित्रमा कमेडी र एक्सनसँग जोडिएको छ ।
टिजरमा मिरुना मगर अर्थात् शान्ति मिसको अनुपस्थितिबारे चासो राखेका दर्शकले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेका छन् । त्यस्तै, विपीन कार्कीको ग्याङस्टार अवतारले पनि दर्शकमाझ विशेष चर्चा पाएको छ । ट्रेलरमा देखिएका कथाका नयाँ मोड र कलाकारहरूको फरक प्रस्तुतिले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको निर्माण टिमको विश्वास छ ।
चलचित्रको ट्रेलर सार्वजनिक हुनुअघि सार्वजनिक गरिएको गीत ‘थाक खोला’ ले पनि दर्शकमाझ कौतुहलता बढाएको थियो । अघिल्ला चारवटै शृङ्खलाले व्यावसायिक सफलता हासिल गरेका कारण पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च छ । दर्शकले चलचित्रलाई यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरेका छन् ।
चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता रहेका छन् । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
चलचित्रका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन् । नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।


